शहीदहरू विगत, वर्तमान र भविष्यका प्रेरणाका स्रोत र पथप्रदर्शक रहेको प्रधानमन्त्रीको भनाइ

152 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको छ ।

शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ ।