प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

117 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि आव्हान गरिएको छ । हिउँद सकिनै लाग्दा बल्ल शुरु हुन लागको हिउँदे अधिवेशनमा थुप्रै विचाराधीन विधेयकहरु पेश हुने अपेक्षा गरिएको छ ।

झण्डै ४० वटा विधेयक विभिन्न समितिहरुमा अल्झिएका छन् । संसद सचिवालयले पहिलो पटक संसद क्यालेण्डर समेत बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ ।

यसैबीच, सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका विधेयकमाथि छलफल गरेर पारित गर्नुपर्ने बताउनु भएको छ । हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आइतबार संसद भवनको अवलोकनपछि संचारकर्मीहसंग उहाँले विधेयक पारित गर्नु मात्रै ठूलो कुरा होइन भन्दै पारित गरिने विधेयकहरुको कार्यान्वयन सुनिश्चित हुनुपर्ने बताउनु भएको हो ।

सभामुख घिमिरेले संसद सचिवालयले तयार पारेको क्यालेण्डर अनुसार नै संसद वैठक चलाउने कोशिस गर्ने पनि बताउनुभएको छ । उहाँले हिउँदे अधिवेशनमा संसदलाई कामको कमी नहुने विश्वास रहेको पनि बताउनुभयो ।

यता संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलहरुले पनि आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने तयारी गरेका छन् । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले आगामी अधिवेशनको संक्रमणकालीन न्याय सम्बन्धि विधेयक र सम्पति शुद्धिकरण सम्बन्धी विधेयक पेश हुने दाबी गर्नुभएको छ । अन्य विधेयकहरु पनि आवश्यकताको आधारमा आउने भन्दै उहाँले सरकारले कति विधेयकहरु ल्याउँछ त्यसको पार्टीभित्र पनि छलफल हुने उहाँको भनाइ छ ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरेको बताउनुभएको छ । संक्रमणकालीन न्याय, विद्यालय शिक्षा, निजामती कर्मचारीलगायतका विधेयक अघि बढाउने उहाँको भनाइ छ ।

यसैगरी प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुशासनलाई आफूहरुले पहिलो मुद्दा बनाउने बताउनु भएको छ । देशको विकास, सुशासन र समृद्धिको सवालमा एमालेले सशक्त ढंगले आवाज उठाउने भन्दै उहाँले धेरैभन्दा धेरै ऐन, कानूनहरु निर्माण गर्न केन्द्रित हुने बताउनुभया ।

यस्तै जनमत पार्टीका प्रवक्ता शरद सिंहले भने सत्तारुढ दलहरुले सहमति पालना नगरेको गुनासो गर्नुभएको छ ।

संसदको वर्षे अधिवेशनबाट एउटा मात्रै विधेयक पारित भएको थियो भने सरकारले विजनेस दिन नसक्दा लामो समयसम्म संसद वैठक शून्य समयको भरमा चलेको थियो ।