विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक हुँदैछन्: अर्थमन्त्री

87 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

अर्थमन्त्री डा.महतले विगतमा विदेशी लगानी कर्ताहरु नेपाल आफैँ सम्पर्कमा जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताउनु भयो ।

उहाँले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताउनु भयो । वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन उहाँले आग्रह गर्नुभयो ।

अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताउनु भयो । उहाँले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताउनु भयो । उहाँले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वल्र्ड बैंकका प्रमुखको उपस्थिति हुने बताउनु भयो । लगानी सम्मेलनलाई सफल बनाउनसके सो सम्मेलनमा फाइदा हुने समेत बताउनु भयो ।

अर्थमन्त्री महतले शुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताउनु भयो । लगानी सम्मेलनले नेपाली लगानी कर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको बताउनु भयो ।

‘हामी लगानी सम्मेलन पनि वैशाख १६ र १७ गते गर्दैछौँ । यो उपलब्धिमुलक बनाउँदा नेपालमा वृहत मल्टिल्याटर, बाइल्याटर मात्रै होइन, निजी लगानीको दायरा पनि व्यापक रुपमा बढ्ने सम्भावना छ । यसमा हामीले अलिकति छाती फराकिलो गर्नुपर्ने आवश्यकता छ । लगानी आयो भने त्यसबाट लिने हो । आउँदै आएन भने के लिने ? त्यसकारण अहिले हामीले ट्याक्सका कुरा गर्छौं, यो कण्डिसन राख्नेकुरा गर्छौं, उ कण्डिसन राख्ने गर्दछौँ । आउन दिनुपर्छ । जस्तो युएईले पहिला ट्याक्स लिएन सबै आए । अहिले ट्याक्स लगाउँदा कोही पनि छोडेर जानेवाला छैनन् । त्यस्तै माहोल नेपालमा बनाउसक्छौँ । नेपाली लगानी कर्तालाई पनि उत्साहित गर्न जरुरी छ ।’ अर्थमन्त्री डा.महतले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाइ संसदबाट पास गर्नुपर्ने बताउनु भयो । उहाँले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकका रुपमा अघि बढाउनसके लगानी सम्मेलनमा सहजता आउने बताउनु भयो ।

बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका कामकारबाहीको बारेमा जानकारी गराइएको थियो ।