कपिलवस्तुको शिवराजमा भएको बस दुर्घटनामा मृतक १० जनाकै नाम ठेगाना खुल्यो

96 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै नाम ठेगाना खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार ज्यान गुमाउनेमा ७ जना पुरुष र ३ जना महिला छन् । दुर्घटनामा रौतहटका नारायणबहादुर भण्डारी, कालीजंग गण गोरुसिङ्गेमा कार्यरत अर्जुनकुमार योगी, कञ्चनपुरका राहुलराम कामी र उमेश भण्डारीको ज्यान गएको पुष्टि भएको छ ।

त्यस्तै, कञ्चनपुरकै भीमदत्त नगरपालिका–१६ की सञ्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट, भीमदत्त–९ का विसनदत्त भट्ट र पुनर्वासकी विमलादेवी भट्टको ज्यान गएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।

दुर्घटनामा भारत उत्तर प्रदेशका सकिल मुसलमानको पनि ज्यान गएको छ । महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको रात्रिबस सडकबाट तल खसेको थियो।

प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अरुको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।