रुसी–युक्रेनसँगको लडाइँमा मृत्यु भएका नेपालीका परिवारलाई रुसले नेपालमै क्षतिपूर्ति दिने

87 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । रुसी सेनामा अनधिकृत रुपमा प्रवेश गरी युक्रेनसँगको लडाइँमा मृत्यु भएका नेपालीका परिवारलाई रुसले नेपालमै क्षतिपूर्ति दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुसस्थित नेपाली दूतावाससँग गरेको समन्वयको आधारमा मृतकका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार युद्धमा हालसम्म मृत्यु भएको पुष्टी भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्र मार्फत क्षतिपूर्ति पाउने भएका छन् ।

क्षतिपूर्तिका लागि रुसमा रहेका नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ ।

दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि क्षतिपुर्ति बापतको रकम परराष्ट्र मन्त्रालयमा आउने र त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय मार्फत पीडितका परिवारलाई क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भइसकेको छैन । रुसी सेनामा अझै कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण पनि छैन ।

रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा धेरै परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।