माओवादी केन्द्रको प्रथम विधान अधिवेशनबाट पार्टीको विधान पारित

96 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पारित गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान पारित गर्नुभएको हो ।
मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । ती समूहबाट आएको सुझावलाई संकलन गरेर विधान पास गरिएको बताइएको छ  ।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो ।
बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषसित हुने बताउनुभयो । उहाँले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव संकलन गरिएको थियो ।
यस्तै नयाँ विधानअनुसार माओवादीले प्रत्यक्ष निर्वाचनबाट समिति चुन्ने भएको छ । ११ जनाको केन्द्रीय कार्यालय बनाउने पनि बताएको छ । १९९ केन्द्रीय समिति कायम गरिएको छ । माओवादी केन्द्रले चुनाव चिह्न र नाम पनि यो पटकलाई फेरेको छैन ।