एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदै

78 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा विभिन्न ६ वटा प्रस्ताव पेस भएका छन् ।

हिजोदेखि शुरु भएको बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । ती प्रस्तावमा छलफलका लागि नौ वटा समूह बनाइएको छ ।

बिहान १० बजेदेखि समूहगत छलफल शुरु हुने नेताहरुले बताएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पेस गरेका प्रस्तावमा पार्टीका निर्णय कार्यान्वयन गर्न नसक्नु, गुट/उपगुट मौलाउनु, नागरिकमा विश्वास जाग्न नसक्नुलगायतका कारण उल्लेख छन् ।

महासचिव शंकर पोखरेलले पेस गरेको सङ्गठनात्मक प्रस्तावमा केन्द्रीय कमिटीले गरेका निर्णयको समीक्षा गरिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको कामकारबाहीबारे जनदबाब र जनपरिचालनसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । बैठक भाेलि १० गतेसम्म चल्नेछ ।