सिताइलामा तीन जनाको हत्या गरेर राजु घिमिरेले गरेका थिए आत्महत्या

53 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राजधानीको सिताइलामा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताएका छन् ।

मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन् । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् । ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो ।

ईश्वरीको अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले पैसा लिन जाने बहानामा बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ । कक्षा आठमा पढ्ने भनिएका ती बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् ।

आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् । बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका थिए ।