कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि समूहगत छलफल

121 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरुले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

बुधबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा मंगलवार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरुले समूह बनाएर छलफल गरेको बताउनुभयो ।

उहाँले महासमिति बैठकमा महासमिति सदस्यहरुले उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठानिक प्रस्ताव, डा. प्रकाशशरण महतको वर्तमान अर्थतन्त्र भावी सम्भावना कार्यदिशा प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदनका विषयमा समूहगत छलफल भएको बताउनुभयो ।

देशभरबाट आएका महासमिति सदस्यहरुले प्रतिवेदनमा आफ्नो विचार राखेको जानकारी दिनुभयो । उहाँले गोदावरी हलमा ११० जना,विशंखुनारायण हलमा ९५ जना र अर्को हलमा ९० जना सदस्यहरुले सुझाव दिएको बताउनुभयो ।

उहाँले महासमिति सदस्यहरुले नेपाली काँग्रेसले प्रभावकारी भुमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने,प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेछुक संस्थाहरुलाई पूर्णता दिनुपर्ने धारणा राखेको बताउनुभयो ।

प्रचार विभाग प्रमुख विश्वकर्माले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने, पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताएको पनि विश्वकर्माले बताउनुभयो ।

प्रमुख विश्वकर्माकाअनुसार महासमिति सदस्यहरुले आर्थिक स्रोतको सदुपयोग गर्ने विदेशी सहयोग भित्र्याउनुपर्ने,युवा पलायनलाई रोक्न रोजगारी सिर्जना गर्नुपर्ने,उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्ने आवज उठेको पनि बताउनुभयो ।

प्रचार विभाग प्रमुख विश्वकर्माले सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, जलवायु परिवर्तनको विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, क्रियाशिल सदस्यलाई पारदर्शी बनाउनुपर्ने लगायतका विषयमा जोड दिनुभएको बताउनुभयो । बिहीबार दिउँसो २ बजेदेखि समापन समारोह हुने पनि उहाँले बताउनुभयो ।