नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदै

73 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो ।

महासमिति बैठकको अन्तिम दिन आज बिहीबार बिहान समूहगत छलफलबाट प्राप्त भएका सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गरेपछि दिउँसो समापन समारोह हुने जनाइएको छ ।

महासमिति बैठकको दोस्रो दिन फागुन ८ गते पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए भने प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत फागुन ७ गतेदेखि सुरु भएको नेपाली काँग्रेसको महासमिति बैठकमा दुई हजारभन्दा बढी महासमिति सदस्य सहभागी भएका छन् ।