त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उहाँको सचिवालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।
शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
बराल व्यवस्थापन संकायका प्राध्यापक हुनुहुन्छ । उहाँले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति हुनुहुन्थ्यो।