मुलुकको भविष्य नेपाली काँग्रेससँग जोडिएको छ: डा कोइराला

49 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले मुलुकको भविष्य नेपाली काँग्रेससँग जोडिएको बताएका छन्। काँग्रेस पूर्वमहामन्त्री डा कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य काँग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।

‘महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा काँग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ,’ डा कोइरालाले भने। काँग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो। सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

‘बिपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि संघर्ष गर्नुभएको थियो, उहाँको संघर्षलाई काँग्रेसले भुल्नुहुँदैन,’ उनले भने। जीवन संघर्ष भएकाले संघर्ष गर्न सिक्नुपर्ने नेता डा कोइरालाको भनाइ थियो। काँग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए।