मधेसको विकासमा निरन्तर लागिपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ

43 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धनुषा स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन्।

उहाँले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गर्नुभयो । सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले सङ्घीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब सङ्घीयता सबल रुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।’ प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले सङ्घीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताउनुभयो। निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ।