धुनिबेसिका मनिष कोइराला बने धादिङ्ग चेस च्याम्पियन 

153 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी (धादिङ) १२ फागुन २०८० । नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न धादिङ जिल्ला ब्यापि बुद्धिचाल प्रतियोगिताको उपाधि धुनिबेसि खानीखोलाका मनिष कोइरालाले चुमेका छन् ।

मछिन्द्र बहुमुखी क्याम्पसका मनिषले शनिवार भएको पाँच चरणको खेलमा ५ जित निकालेका हुन । सत प्रतिशत जित निकाल्ने क्रममा उनले संदिल श्रेष्ठ , राजेन्द्र रिमाल, शंकल्प पौडेल, सुदिन नेपाल र आशिष् लामिछाने माथि प्रभावशाली जीत दर्ता गर्दै उपाधि सहित नगद रु.७ हजार हात पारेका छन्।

 नमुना बागेश्वरी बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेशमराज खतिवडाको सक्रियतामा सञ्चालन भएको खेलमा गल्छिका स्थानीय व्यवसायी बिष्णु मिश्र ४ अंक सहित दोश्रो स्थानमा रहन सफल भएका छन्। उनले नगद रु. ५ हजार प्राप्त गरेका छज्। वैरेनीका रोशन दुवाडी डाइरेक्ट इन्काउण्टरका आधारमा ४ अंक हासिल गर्दै तेश्रो स्थानमा रहन सफल भएका छन्। दुवाडी ले नगद रु. ३ हजार प्राप्त गरेका छन्।

धादिङ जिल्लाका शिर्षस्थ ४३ स्थानीय खेलाडीहरुको सहभागीता रहेको बुद्धिचाल प्रतियोगितामा भेटेरान तर्फ खिम प्रसाद अमगाँईं, उत्कृष्ट युवा १६ मा सौगात ढकाल ,उत्कृष्ट विद्यार्थीमा एलेक्स बर्तौला ,उत्कृष्ट पुरुष खेलाडीमा नमुना बागेश्वरी बहुमुखि क्याम्पसका अपील रिमाल र उत्कृष्ट महिला खेलाडी कृष्णा श्रेष्ठले आफूहरुलाई अब्बल प्रमाणीत गर्न सफल भएका छन्।

शनिवार भएको समापन समारोहमा गल्छि गाउँपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले विजयी खेलाडीहरुलाई  नगद पुरस्कार र शिक्षा तथा खेलकुद शाखा प्रमुख पेमा डोर्जे थोकरले मेडल प्रदान गरेका थिए । नेपाल बुद्धिचाल संघका अध्यक्ष हिराकाजि महर्जनले विजयी खेलाडी मनिष कोइरालालाई ट्रफी प्रदान गरेका थिए