नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि उक्त सडकखण्ड दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिनुभयो । अब पहाड काट्न एक–दुई मिटर मात्र बाँकी भएकाले गाडी बन्द नै गर्नुपर्ने पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

तुइन खोलामा ६० मिटर लम्बाइको पुल बन्ने सडक आयोजनाले जनाएको छ । यस सडकका १९ पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ वटा पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ वटा पुल निर्माण भइसकेका छन् । छ वटा पुलमा गाडी गुड्ने चरणमा आइपुगेको बताइएको छ ।