लोसपाका नेता राजेन्द्र महतोले त्यागे पार्टी

56 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताउनुभयो । तर आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उहाँले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताउनुभयो ।

त्यस्तै महतोले बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग अघि सार्नुभएको छ । देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भईरहेका कारणले नेपाल सबै नेपालीको लागि बन्न नसकेको उहाँको धारणा छ ।

महतोले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धरासायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सो तर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडि बढ्छ नै ।

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै एकताबद्ध भएर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नरहेको महतोको भनाइ छ ।