त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालको पहिलो जित

66 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले हरायो ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिए ।

अब नेपालले भोलि नेदरल्यान्ड्ससँग र पर्सि नामियिा र नेदरल्यान्ड्स खेल्नेछन् । शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग २ रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया २ अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।