त्रिदेशीय टी–२० क्रिकेटको अन्तिम खेलमा नेपालको जित

72 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।

यो जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना बलियो भएको छ । नेपाल ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ अङ्क भए पनि नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कका साथ पुछारमा छ । शृङ्खलाको अन्तिम खेलमा भोलि नामिबिया र नेदरल्यान्ड्सबीच खेल्नेछन् । फाइनल खेल मङ्गलवार हुनेछ ।