कांग्रेसले भन्यो, शालीन पोखरेलको मृत्युबारे सत्यतथ्य अनुसन्धान गर्नुस्

65 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसले चितवनमा १२ फागुनमा आफू बस्ने होल्टलको कोठामा १४ वर्षकी बालिका मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको होस्टलमा भएको मृत्यु शंकास्पद भएको भन्दै कांग्रेसले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति निकालेर भनेका छन्, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ ।’

यो घटनामा सत्य, तथ्य बाहिर ल्याएर दोषीलाई हदैसम्मको कारबाहीका लागि कांग्रेसले सरकारसँग माग गरेको छ । गोरखाको अजिरकोट गाउँपालिका-५ घर भएकी शालीन शिशु निकेतन विद्यालयको छात्राबासमा बसेर पढ्दै थिइन् । छोरीको हत्या भएको हुनसक्ने आशंका गर्दै उनको बाबुले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र होस्टल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानका लागि प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।