धादिङको घाटबेसी बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो बिहिबार भेटियो ३ जनाको शव

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
धादिङ, २४ फागुन । बुधबार विहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेसी स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । दुर्घटना पछि त्रिशूली नदीमा डुवेर हराईरहेका  तीन जनाको शव बिहिबार  फेला परेपछि मृतकको संख्या १० पुगेको हो ।

कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक रात्री बस बुधबार विहान साँढे चार बजेतिर राजमार्गबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटना पछि हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव बिहिबार दिउँसो फेला परेको थियो भने दुर्घटनामा हराइरहेका बुटवलका उपमहानगरपालिका–६ का प्रकाश पाठकको शव दिउँसो फेला परेको हो । पाठकको शव बिहिबार दिउसो दुर्घटनास्थलभन्दा करिब दुई किलोमिटर तल त्रिशूली नदी किनारमा भेटिएको हो । यसअघि स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव फेला परेको थियो । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बिहीवार दुइ जनाको शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १०ं जना पुगेको हो ।

बिहीवार दिउँसो गैरेको शव दुर्घटनास्थल भन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा नदीमा हराईरहेको तीनै जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परि बुधबार ज्यान गुमाउनेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका– २ का रुवी श्रेष्ठ र काठमाडौंको चन्द्रागिरी नगरपालिका– १० का ५५ वर्षिय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, राम किशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवारका अनुसार बसमा चालक र सहचालक गरि ५१ जना रहेका थिए । दुर्घटनामा परि घाइते बनेका र सकुसल रहेका ३९ जनाको उद्धार गरिएको थियो । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षिय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।