यूएईको जेलमा रहेका धादिङका पहलमान थापा मगरलाई जेलबाट छुटाउन जुट्यो ५० लाख

330 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ फागुन २०८० । धादिङको नेत्रावती डवजोङ वडा नम्बर ४ तमै गाउँका पहलमान थापा मगरलाई संयुक्त अरब एमिरेट्स (यूएई) को जेलबाट छुटाउन आवश्यक पर्ने ५० लाख रुपैयाँ ‘ब्लडमनी’ जुटेको छ ।

पहलमानलाई छुटाउनका लागि आवश्यक पर्ने ५० लाख ‘ब्लडमनी’ जुटाउन पहलमानको परिवारले आर्थिक सहयोगका लागि सार्वजनिक आग्रह गरेको थियो ।

परिवारको आग्रह,आफन्त र साथीभाईको सक्रियता, सहयोगी दाताहरुको सहयोगबाट पहलमानका लागि जेलबाट छुटाउन तिर्नु पर्ने व्लडमनीको लागि चाहिने रकम जुटेको पहलमानका मामा तेज आलेले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।

६ वर्षपहिले रोजगारीका लागि यूएई गएका तमैगाउँका एक बहादुर मगरका छोरा पहलमान सन् २०१९ जुन ३ तारिख अर्थात २०७६ जेठ २० गते का दिन एउटै कोठामा बस्ने नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या अभियोगमा यूएईको जेलमा छन । गएको ५ वर्षदेखि युएईको सारजाहा सेन्ट्रल जेलमा आजिवन कारावासको सजाय भोगिरहेका उनलाई यूएईको अदालतले दोषी ठहर गरिसकेको छ ।धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठ र नवलपुर मध्यविन्दुका बाबुराम आलेमगर दुबईमा सँगै बस्थे ।

ओखलढुंगाका भुवन र धादिङको पहलमानले हत्या गरेको भनिएका नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको परिवारले ब्लडमनी लिएर मुद्दा फिर्ता लिन सहमती जनाएको छ । यी दुई परिवारले मृतकका परिवारलाई ३ लाख दिराम अर्थात करिब एक करोड ८ लाख नेपाली रुपैयाँ दिनु पर्नेछ। यो रकम मृतकका परिवारले पाइसकेपछि मात्रै मुद्दा फिर्ताको प्रक्रिया सुरु हुनेछ।

यूएईको प्रचलित कानुन बमोजिम मृतक परिवारलाई ब्लडमनी तिरेर अभियोग फिर्ता लिने व्यवस्था भए अनुसार थापामगर र श्रेष्ठको परिवारले २०७९ बैसाख १६ गते मृतकको श्रीमती नरिमा आलेसँग यूएईको अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन लागुहुने शर्त सहित करारनामाको कागज गरेका थिए । थापामगर र श्रेष्ठ परिवारले मृतक आलेमगर परिवारलाई ५०/५०लाख (३ लाख दिराम)दिने र मृतक परिवारले अभियोग फिर्ता लिने लिखित सम्झौता भएको थियो ।

दुबईमा मृत्यु भएका बाबुरामकी श्रीमती नरिमा मगर पनि घटना हुँदा दुबईमा नै थिइन । उनकै जाहेरीका आधारमा पहलमान र भुवनलाई त्यहाँको अदालतले फैसला सुनाएको हो । श्रीमानको हत्या भएपछि नरिमा नेपाल फर्कीएकी थिइन् । नेपाल फर्र्कीएकी नरिममासँग भुवन र पहलमानका परिवारले ब्लड मनिका रुपमा १ करोड रुपैयाँ दिने सहमती गरेको थिए । ‘मृतक बाबुरामको परिवारलाई दुबै परिवारले ५०र५० लाख नगद दिएर कारागारमा रहेका मगर र श्रेष्ठलाई रिहा गर्ने सहमती भएको थियो, ओखलढुंगाका भुवन श्रेष्ठका बुबा यमबहादुर श्रेष्ठले भने,‘पीडित र पीडक दुबै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेश गरेपछि भने उच्च अदालतले ब्लड मनी दिने प्रक्रिया पुरा गरे रिहा हुने फैसला गरेको हो ।

करारनामाको दिन थापामगर परिवारले मृतक परिवारलाई १६ लाख ६२ हजार ५०० र श्रेष्ठ परिवारले ३ लाख दिएका थिए । ‘ पहलमानलाई बचाउन आवश्यक रकम जुटिसक्यो । पहलमानका बुवा एकबहादुर मगरको खातामा देश विदेशबाट सहयोगी दाताहरुले दिनु भएको रकम जम्मा भएको छ, क–कस्ले कति सहयोग गर्नु भयो भन्ने बारेमा हामी केही दिनमै सबै हिसाव किताव सार्वजनिक गर्ने छौं, फागुन २३ गते देखि हामीले पहलमान बचाउका लागि सञ्चालित आर्थिक सहयोग संकलन अभियान पूर्ण रुपमा वन्द गरिसकेका छौं पहलमानका मामा तेज आलेले धादिङ न्यूजलाई वताउनु भयो ।
यूएईको कानुन अनुसार मृतकका परिवारलाई ब्लडमनी बुझाइसकेपछि मुद्दा फिर्ता हुन्छ । त्यसपछि उनीहरु थुनामुक्त भएर नेपाल फर्किन पाउँछन् उनीहरुको सहमति अनुसार नेपालमै रकम लेनदेन हुनेछ। कन्सुलर सेवा विभागको रोहबरमा गरिएको लेनदेन काठमाडौँस्थित यूएई दूतावासले प्रमाणीकरण गरेर अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता गर्दै जेलमा रहेका नेपाली रिहाइको प्रक्रिया पूरा हुनेछ ।