राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन

25 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११.९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ ।

निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसबाट सांसद युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रियसभामा माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्ता गठबन्धनमा रहेको अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन ।

राष्ट्रियसभामा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् भने प्रमुख प्रतिपक्ष दल काँग्रेसका १६ सांसद छन् । यस्तै लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य रहेका छन् ।

राष्ट्रपतिबाट मनोनित बामदेव गौतमले कता भोट हाल्ने स्पष्ट छैन । ३९ सांसद भएको हालको सत्ता गठबन्धनले राष्ट्रियसभा अध्यक्षको चुनाव जित्ने पक्का जस्तै छ । गठबन्धनबाट उम्मेदवार बन्नु भएका माओवादीका दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित देखिएको छ ।