गगन थापाले भने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानविन गर्नुपर्छ

293 पटक पढिएको

५ चैत्र २०८०, सोमबार १२:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपमा लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताउनुभएको हो ।

उहाँले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने बताउनुभयो ।

सांसद थापाले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गर्नुभयो । उहाँले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गर्नुभयो ।