पत्रकारितामा युट्युब र आचारसंहिता बिषयमा छलफल

116 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ५ चैत । सबै काममा असफल भएपछि एउटा क्यामेरा किनेर पत्रकारितामा नआउन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह गर्नु भएको छ । पत्रकारितामा युट्युव र आचारसंहिताको सवाल बिषयक अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकारितालाई वद्नाम हुने गरी कुनै काम नगर्न पत्रकारलाई सचेत गराउनु भएको हो ।

पछिल्लो समय नेपाली पत्रकारितामा युट्युवको प्रवेशले सकारात्मक भन्दा नकरात्मक प्रचार बढि भएकाले मर्यादित र व्यवस्थित गर्न कानूनको खाँचो रहेको अध्यक्ष बस्नेतको भनाई थियो ।युट्युवलाई मुलधारको मिडियाका रुपमा मान्ने कि नमान्ने भन्ने बहस भईरहेकाले यस्लाई नियमन गरेर व्यवस्थित गर्नुपर्छ भन्नेमा प्रेस काउन्सिल रहेको भएपनि कतिपय युट्युवका प्रस्तुतीले समाजमा गलत सन्देश प्रवाह भईरहेको अध्यक्ष बस्नेतको भनाई थियो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासँघ धादिङ शाखाको समन्वयमा धादिङ जिल्लामा कृयाशिल पत्रकारहरुका लागि पत्रकारितामा युट्युव र आचारसंहिताको सवाल बिषयक छलफल कार्यक्रम चैत ५ गते सोमबार धादिङबेसिमा सम्पन्न भएको हो ।

महासँघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्बासे, काउन्सिलका महानिर्देशक झविन्द्र भुसाल, नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य धुर्व  रावलले पत्रकारिता र आचारसंहिताका बिषयमा अहिले देखिएका बिकृती,रोकथामका उपाय लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।

छलफल कार्यक्रममा जिल्लाका अग्रज पत्रकारहरु केशव अधिकारी,पोषनाथ अधिकारीले समाचार र पत्रकारका बारेमा आफ्नो अनुभव र समाचार लेख्दा ध्यान दिनुपर्ने बिषयमा धारणा  राख्नु भएको थियो । यसैगरी जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारले आफ्नो अनुभव आदानप्रदान गरेका थिए।