प्रतिनिधि सभा बैठकः शून्य समयमा को सांसदले के विषयमा बोले ?

44 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले वन डढेलो तथा गाउँघरमा हुने आगजनी नियन्त्रणका लागि अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले गर्मी महिनामा वन डढेलो तथा गाउँबस्तीमा आगजनी हुने घटना हुने भएकाले यसतर्फ सचेत हुन सबैको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारको सबै निकाय बेलैदेखि सचेत हुनुपर्ने बताउनु भयो । उहाँले नेपालका सम्पूर्ण वनहरु आगजनीको खतरामा रहेको बताउनुभयो ।

सांसद गैरेले भन्नुभयो, ‘नेपालका सम्पूर्ण वनहरु आगजनीको अत्यन्त खतरामा छन् । जसका कारणले वन्यजन्तु, प्राकृतिक सम्पदाको विनाश हुने छदैछ । त्यसकारणले सिंगो सरकार, देशका सम्पूर्ण जनप्रतिनिधिमुलक संस्थाहरु, नागरिक समाज र सुरक्षाकर्मी लगायत सबै वनमा लाग्ने डढेलोको नियन्त्रण, गाउँबस्ती, घरहरुमा लाग्ने आगजनीको नियन्त्रणका लागि सचेत हुनुपर्ने आवश्यकता छ । सँगसँगै अब हावाहुरीको प्रकोप पनि बढ्दै जानेछन् । त्यसप्रति पनि सबै सचेत हुनुपर्छ ।’

प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले मिटरब्याजीहरु प्रहरी प्रशासनमा न्यायका लागि जाँदा बिचौलिया र दलालहरुको घेराबन्दीमा पर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस्तो क्रियाकलाप रोकिनुपर्ने बताउनु भयो ।

सदस्य चौधरीले भन्नुभयो – ‘मिटरब्याजीहरुको प्रहरी प्रशासनमा छलफल अगाडी बढ्छ । त्यहाँ विचौलिया र दलालहरुको व्यापक रुपमा शुरुवात हुन्छ । त्यसकारण म गृह प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, यस्ता क्रियाकलाप रोक्न आग्रह गर्दछु । अन्यथा नाम किटेरै सम्बन्धित व्यक्तिहरुको नाम संसदमा भन्छु ।’

प्रतिनिधि सभा सदस्य दिक्पालकुमार शाहीले गृहमन्त्री सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नुभयो । उहाँले गृहमन्त्रीले कांग्रेसलाई पढाउन खोजेको भन्दै दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, सहकारी ठगि र सुन तस्करसँगको साँठगाँठ भने नसिकाउन आग्रह गर्नुभयो ।

सांसद शाहीले भन्नुभयो – ‘देशभरी सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएर चिच्याइरहेका छन् । सहकारीमा जम्मा गरेको रकम सहकारी नियम विपरित गृहमन्त्रीज्युले लिनुभएको र अनुसन्धान गर्ने तालुक मन्त्रालयमा आफैँ बसेको आरोप छ । पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न गृहमन्त्रीज्यूले राजीनामा गरी सहयोग गर्न माग गर्दछु । गृहमन्त्रीज्युले नेपाली काँग्रेसलाई पढाउन खोज्नुभएको रहेछ, मेरो अनुरोध छ, कांग्रेसलाई पढाउँदा डबल नागरिकता, डबल पासपोर्ट, सहकारी ठग्न र सुन तस्कारसँग साँठगाँठ गर्न नसिकाउनु होला । माओवादी पार्टी सुन पार्टी बन्दै छ रे । अर्थमन्त्री लगायतका उच्च तहका सबै नेताहरु सुन तस्करसँग जोडिनुभएको समाचार छ । सुन तस्करी तथा सहकारी ठगिको विषयमा प्रधानमन्त्रीबाट जवाफ माग गर्दछु ।’

प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले सरकारले नयाँ सहिदहरु घोषणा गरेर दश÷दश लाख रुपैयाँ दिन लागेको भन्दै यसो नगर्न आग्रह गर्नुभयो । उहाँले सहिदको नाममा पैसा दिनुभन्दा निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रहेको पैसा दिन सरकारसँग माग गर्नुभयो ।

सांसद सिंहले भन्नुभयो – ‘यो भन्दा पहिलेको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गरेर दश÷दश लाख रुपैयाँ दिने भन्ने निर्णय गरेको छ । यो कतिदिन चल्ने हो रु म सरकारलाई भन्न चाहान्छु, त्यो पैसा त्यहाँ दिनुभन्दा देशको निर्माण गर्ने कन्ट्रयाक्टरहरुलाई दिए उनीहरु बाँच्ने थिएँ । त्यसकारण नयाँ शहीदहरुलाई दश÷दश लाख र अनेक कुरा दिएर व्रम्हलुट गर्न पाइँदैन भन्ने कुरा म राख्छु ।’

शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रको विकास निर्माणको कामहरुको सम्बन्धमा बोलेका थिए ।