पूर्वसभामुख महरा हाजिरी जमानतमा रिहा

33 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

सुन तस्करीबारे अनुसन्धान गर्न गठीत आयोगले महरालाई दोषी देखाएपछि प्रहरीले चैत ५ मा उनलाई कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौं ल्याइएपछि नर्भिक अस्पतालमा बस्दै आएका महराको सीआईबीमा दुई दिन लगातार बयान लिइएको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे महरासंग बयान लिइएको हो ।

बयानका क्रममा अनुसन्धान अधिकृहरुसँग महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकार्दै कारोबार भने नगरेको दाबी गरेका थिए । विभिन्न रोगबाट ग्रस्त महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छाडिएको सरकारी वकिलको कार्यालयको भनाइ छ ।