बेनीघाट-आरुघाट सडकको तान्द्राङ खोलामा पुल निर्माण कार्य सम्पन्न

66 पटक पढिएको

सम्पादक: Dhading News

आइतबार, चैत ११, २०८०

धादिङको वेनिघाट स्थित पृथ्वीराजमार्ग बाट गोरखा र धादिङ जिल्लाको उत्तरी भेग जोड्नै बेनीघाट–आरुघाट सडक खण्ड अन्र्तगत तान्द्राङ खोलाको पुल निर्माण कार्य सम्पन्न भएको छ ।

गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेँसी र वडा नम्बर ४ धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण सम्पन्न भएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिनाभित्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ। पुल निर्माणका लागि कार्यालयले गएको मङ्सिर १५ गते ठेक्का सम्झौता गरेको थियो।

एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यालयले ठेकेदार कम्पनी जलप होम जेभीसँग ठेक्का सम्झौता गरेकोमा ठेक्का सम्झौता भएको चार महिनामै काम सम्पन्न भएको सडक कार्यालयले जनाएको छ ।

इन्जिनियर श्रेष्ठका अनुसार पुल निर्माणको लागत तीन करोड ८९ लाख ८३ हजार रूपैयाँ रिकम छुटुयाईएको थियो । पुलको वारिपारि दुवैतर्फ ५०/५० मिटरको पहुँच मार्ग निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले पक्की पुल निर्माणका लागि डिपिआर तयार गरिएकोमा पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको इन्जिनियर श्रेष्ठले वताउनु भयो ।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने सवारी साधनको आवागमनमा सहज हुनुका साथै गोरखाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङको ज्वालामुखी, त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाका नागरिकलाई सहज हुनेछ।