आगामी बजेट सबै जनताको मन छुने गरी ल्याउछौँ: अर्थमन्त्री पुन

46 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी बजेट सबै जनताको मन छुने गरी बजेट ल्याउने बताउनु भएको छ। आज आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे संबन्धीत पदाधीकारीलाई सोहीअनुरुपको निर्देशन दिएको बताउँदै यस्तो जानकारी दिनुभएको हो।

अर्थमन्त्री पुनले आज अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु,मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई राखेर बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिनुभयो। मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिनुभयो।

उत्पदान वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने बताउनु भयो। त्यसका लागि उत्पादनमुलक उद्योग प्रवद्र्धनमा लगानी र निर्यात प्रवद्र्धनलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो।

अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्ता साझेदार दलहरुबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरुसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न भन्नुभयो। मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिनुभयो। त्यसका लागि सम्वद्ध निकायहरुबीच अन्तरसन्ध स्थापनामा निरन्तर संवाद हुनुपर्ने बताउनु भयो।