बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिँदै

44 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले नयाँ गठबन्धन बनेसँगै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

उहाँले हिजो एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थपलियाले हिजो बेलुका प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

यसअघि बिहीवार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का नेता शैलेन्द्र बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको थियो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि तत्कालीन सत्तासाझेदार दल कांग्रेसका छ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बाग्मती प्रदेश सरकार अल्पमतमा परेको थियो ।

हानेपा सरकारमा सहभागी भएसँगै बाग्मती प्रदेश सरकारको संकट तत्काललाई टरेको छ । एक सय १० सदस्य रहेको बाग्मती प्रदेश सभामा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेश सभामा नयाँ गठबन्धनका दल एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी जम्मा ५५ सांसद छन् । दुई सांसद रहेको हानेपा थपिएपछि जम्कट्टेल नेतृत्वको सरकारले बहुमत सदस्य जुटाएको छ ।