सहकारी ठगहरुको पक्षमा वकालत गरेको काँग्रेस सांसद प्रतिमा गौतमको आरोप

28 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको हो ।

उहाँले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालयपनि आफैँ भएर प्रस्तुत भएको पनि बताउनुभयो ।

सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको बताउनुभयो ।

उहाँले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताउनुभयो । सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उहाँको भनाइ छ ।