परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

349 पटक पढिएको

१९ चैत्र २०८०, सोमबार १३:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किनुभएको छ ।

चीनका परराष्ट्रमन्त्री वाङ वीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीनतर्फ जानुभएको थियो ।

मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभएको छ । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची ९कोरला० व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथशीघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको बताउनुभयो । उहाँले यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताउनुभयो ।