लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

25 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएकाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री चौधरीलाई विश्वासको मत लिनुपर्ने भएको हो । चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक आज दिउँसो ४ बजे बोलाइएको छ । लुम्बिनी प्रदेश सरकारमा अहिले नेपाली काँग्रेस, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत छन् । प्रदेशमा एमालेका २९ सांसद, काँग्रेसका २७ सांसद, सभामुखबाहेक माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद रहेका छन् । तर राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दामा निलम्बित भएका छन् ।

यस्तै प्रदेशमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एकजना सांसद सहित एकजना स्वतन्त्र सांसद छन् ।

केन्द्रमा बनेको सहमति अनुसार अब प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेपछि माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने लगभग पक्का छ ।