कांग्रेस गृहमन्त्रीमाथि छानबिन समितिको मागबाट पछि नहटेपछि रास्वपाको काउन्टर माग

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले काउन्टर माग अघि सारेको छ ।

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो ।

२०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने रास्वपा सांसद हरि ढकालले बताउनुभयो ।

बैठकले प्रमुख प्रतिपक्ष दल कांग्रेसले विना आधार संसदीय छानबिन समितिको माग गरेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो । हल्लाकै आधारमा संसदीय छानबिन समिति गठन गर्नु न्यायोचित नहुने रास्वपाले जनाएको छ ।

संसदीय समितिमा भएका निर्णयको आधारमा सांसद मनिष झाले संसदमा बोल्ने गरी रास्वपाले तयारी गरेको थियो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसद झालाई बोल्न समय दिए पनि कांग्रेसले अवरोध सिर्जना गरेपछि उहाँ बोल्न पाउनुभएन ।

नयाँ समीकरण बनेपछि न्यूनतम साझा संकल्पमा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गरिने संकल्प गरेको समेत रास्वपाले जनाएको छ ।