इस्लाम धर्मावलम्बीले आज इद पर्व मनाउँदै

404 पटक पढिएको

२९ चैत्र २०८०, बिहीबार १२:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौं। देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महिना मानिन्छ। “जकात (दान) यही महिनामा दिइन्छ”, उनी भन्छन्, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ।”

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ। यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए।

काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनी बताउछन्।

“संस्कृति बचाउन स्थान चाहिन्छ”, उनी भन्छन्, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ।”