धादिङको नीलकण्ठ नगर क्षेत्रका सरकारी बिद्यालयमा निःशुल्क शिक्षा सदरमुकाम धादिङबेसीको नीलकण्ठ माविमा वालमन्दिर मावि र ईजारा आवि गाभिंदै

399 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३० चैत । धादिङको नीलकण्ठ नगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमा निशुल्क शिक्षाको अवधारणा लागू गर्ने निर्णय  गरेको छ ।

नेपालको संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी हकको कार्यान्वयन गर्न नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा कार्यक्रम ल्याईएको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले बताउनु भयो ।

संविधानले शिक्षा सम्बन्धी मौलिक हकको प्रत्याभूत गरेकाले नीलकण्ठ नगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक बिद्यालयमा मावि तहसम्मको  पढाई निःशुल्क गर्ने निति ल्याएको नगर प्रमुख ढुंगानाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनु भएको हो ।
नगर क्षेत्र भित्रका कुनैपनि बालवालिका आर्थिक अभावले शिक्षा आर्जनवाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले निशुल्क शिक्षाको अवधारणा लागू गर्न लागिएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले वताउनु् भयो । निःशु्ल्क शिक्षा कार्यान्वयनका लागि नगरपालिकाले आवश्यक निति र कार्यविधि बनाएर अघि बढ्ने उप प्रमुख विश्वकर्मको भनाई छ ।

नगरक्षेत्र भित्र निःशुल्क शिक्षाको अवधारणा संगै सदरमुकाममा रहेको नीलकण्ठ मावि, वालमन्दिर मावि र इजारा आविलाई एकीकरण गरी एउटै बिद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ ।

तीन वटा बिद्यालय एकीकरणका लागि प्राविधिक पक्षको अध्ययन गर्न ३ नम्बर वडाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा बिद्यालय व्यवस्थापन कार्यदलको गठन गरिएको छ । कार्यदलले तीनवटै बिद्यालयको पूर्वाधार र प्राविधिक पक्षको अध्ययन गरी नगर शिक्षा समितिलाई प्रतिवेदन पेश गर्ने भएको छ ।

यस अघि विद्यालयले विभिन्न नाममा शुल्क लिंदै आईरहेको भएपनि नगरक्षेत्र भित्रका कुनै पनि सरकारी बिद्यालयले बिद्यार्थीसंग शुल्क दिन नपाउने, नगर क्षेत्र भित्र प्लस टुको पढाई दिउँसो सञ्चालन हुने र बिद्यालयका प्रधानाध्यापक छनौट खुल्ला प्रतिस्पर्धाबाट गरिने नीलकण्ठ नगरपालिकाले घोषणा गरेको छ ।