धादिङ र नुवाकोटका २१ हजार ९ सय ६० करदाता कर नतिर्ने सूचीमा बक्यौता देखिएकाहरुमा उद्यमी व्यवसायी ,जनप्रतिनिधि देखि सञ्चार गृहसम्म

136 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङन्यूज

१ बैशाख २०८१
धादिङं । करदाता सेवा कार्यालय गल्छीले धादिङ र नुवाकोट जिल्लाका कर बक्यौता भएका २१ हजार ९ सय ६० करदाताहरुलाई कर दाखिला गर्न सार्वजनिक आह्वान गरेको छ ।यस कार्यालयको कार्यक्षेत्रमा धादिङ र नुवाकोट जिल्ला रहेको छ ।

कार्यालयले २०८० चैत २३ देखि २७ गतेको मिति भित्रमा आफ्नो कार्यक्षेत्र भित्र पर्ने दुवै जिल्लाको कर बक्यौता भएका करदाताहरुको सूची स्थानीय तहअनुसार  छुट्टाछुट्टै सार्वजनिक गरेको हो । बक्यौता दाखिला गर्न सार्वजनिक सूचीमा धादिङ जिल्लाका १२ हजार २ सय ३६ र नुवाकोट जिल्लाका ९ हजार ७ सय २४ करदाताको नाम, ठेगाना रहेको छ ।

कार्यालय द्धारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ–‘तपसिल बमोजिमका करदाताहरुले विभिन्न मितिदेखि हाल सम्म आयविवरण पेश नगरी कर दाखिला नगरेकाले यो सूचना प्राप्त भएको मितिले सात दिन भित्र आय विवरण पेश गरी कर दाखिला गर्नुहुन अनुरोध छ ।’
सूचनामा थप भनिएको छ आयविवरण पेश नगरेको खण्डमा आयकर ऐन को दफा ११७ बमोजिम मासिक रु १०० का दरले शुल्क र दफा ११९ बमोजिम वार्षिक १५ ५ ब्याज गणना भइरहनेछ ।”
कर बक्यौता भएका करदाताहरुमा धादिङको नीलकण्ठ नगरपालिकामा २८ सय ३४, धुनिबेशी नगरपालिकामा १५ सय ३३, थांक्रे गाउँपालिकामा १४ सय ६४, वेनिघाट रोराङमा १३ सय २७ वटा विभिन्न प्रकारका निजी फर्म, सामाजिक संस्था, उपभोक्ता समितिहरु रहेका छन् । कर दाखिला गर्न बाँकी हुनेहरुमा धादिङको गजुरीमा ११ सय ९३, गल्छीमा १०५०, त्रिपुरासुन्दरीमा ६ सय ८४, सिद्धलेकमा ६ सय ३३, ज्वालामुखीमा ५ सय ४२,गंगाजमुनामा ३ सय ५३, खनियावास २ सय ३५,नेत्रावती डवजोङ २०० र रुवीभ्यालीमा १ सय ८८ वटा विभिन्न प्रकारका फर्महरु रहेका छन् ।
कर दाखिला गर्न बाँकी रहेकाहरुको सूचीमा पालिकाका प्रमुख उपप्रमुख, वडाअध्यक्ष देखि सञ्चालनमा रहिरहेका सञ्चार गृह र केही वन्द रहेका पत्रपत्रिका समेत छन् । निर्माण सम्वन्धि उपभोक्ता समिति, कृषि तथा पशुपालन फर्म, सामाजिक संघ संस्था, सामुदायिक बन, निजी व्यवसाियक फर्मका साथै मिडिया हाउस समेत रहेका छन् ।
कर कार्यालयको सूचना अनुसार नुवाकोट जिल्लाको विदुरमा ३४ सय ९१, बेलकोटगढीमा १२ सय ६४, ककनीमा एक हजार ८८, लिखुमा ७ सय १२, तादीमा ५ सय १६,सूर्यगढीमा ४ सय ५७ वटा विभिन्न प्रकारका फर्महरुको नामावली सार्वजनिक गरिएको छ ।
त्यसै गरी नुवकोटकै शिवपुरीमा ४ सय ८८,पञ्चकन्यामा ४ सय ५८, दुप्चेश्वरमा ४ सय २२, तारकेश्वरमा ३ सय ९७ र मेगाङमा ३ सय ३१ वटा विभिन्न प्रकारका फर्म, संघ संस्था, उपभोक्ता समितिको नाम कर वक्यौता रहेको सूचीमा सार्वजनिक गरिएको छ ।
करदाता कार्यालय गल्छीले सार्वजनिक गरेको सूचीमा  कृषि तथा पशुपंक्षी फर्म, पसल, व्यवसाय,उपभोक्ता समिति,  क्लबको नाम समावेश भएको छ ।

आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ ।
त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानुनी प्रबन्ध छ ।