पतेनीको कहालीलाग्दो दुर्घटनाले स्तव्ध बन्यो सदरमुकाम

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी २ बैशाख २०८१ ।

सदरमुकाम धादिङबेसीबाट १३ किलोमिटर पूर्व तर्फ पर्ने खाल्टेको पतेनीमा आईतबार विहान भएको कहालीलाग्दो दुर्घटनाले जिल्लाबासीलाई स्तव्ध वनाएको छ । दुर्घटनाको खबर आएपछि घाईतको शिघ्र स्वास्थ्य लाभको कामना र मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सन्जाल भरिभराउ भएको छ ।

सामाजिक सन्जाल मार्फत पतेनी दुर्घटनाको सूचना मात्रै बाहिर आएको थिएन । दुर्घटना भएको केही बेरमै दर्दनाक दृष्य सहितका तस्बिर र भिडियो सामाजिक सन्जालमा पनि छ्यापछ्याप्ती भएका थिए ।  सम्पादन नगरिएका कतिपय भिडियोले जो कोहीलाई पनि पिडा दिईरहेको थियो ।

दुर्घटनाको खबर सूनेपछि सामाजिक सन्जाल मार्फत धेरैले  दुःख व्यक्त गर्दै लेखेका थिए ।  मिडियाले पनि दुर्घटना भए देखि निरन्तर आआफ्नो ढंगबाट समाचार दिएका थिए । दुर्घटना भन्नासाथ अकल्पनीय र पिडादायी हुन्छ नै त्यसपछि एकै परिवारका त्यो पनि कलिला बालवालिका दुर्घटना परेको खबर सुन्दा जो कोहीको आँखा रसाएका थिए ।

सबैभन्दा पहिले दुर्घटनालाई पुष्टि गर्दै पतेनी आधारभूत बिद्यालय पतेनीका प्रधानाध्यापक शिवहरी अधिकारीले आफ्नो फेसबुक वालमा ‘अत्यन्तै दुःखद् खबर ! आजको दिन हामी र हाम्रो पतेनी आधारभूत विद्यालयको लागि कालो दिन!”लेखेर पोष्ट गर्नुभएको थियो । आईतबार विहान भएको पतेनीको आईचर दुर्घटनामा पर्ने सबै पतेनी आविका बिद्यार्थी र अभिभावक हुन ।

उद्धार पछि घाईतेहरुलाई उपचारका लागि धादिङ अस्पताल ल्याईपु¥याउँदा अस्पतालमा थामिनसक्नु भिड उत्रिएको थियो । घाईतेलाई एम्बुलेन्सबाट अस्पताल लैजांदै गर्दा अस्पतालमा जम्मा भएका अधिकांशका आँखा रसाएका थिए । धादिङ अस्पतालमा प्रारम्भिक उपचार गरेर  घाईतेहरुको  थप उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टरको खोजी गर्न जनप्रतिनिधि, प्रहरी, प्रशासन, राजनैतिक अगुवा, सामाजिक व्यक्तित्वहरु निकै खटिएका थिए । निकै समयको प्रयासपछि नेपाली सेनाको हेलिकप्टर ल्याएर घाईतेहरुलाई काठमाण्डौं पठाउँदै गर्दा सदरमुकामबासी थप स्तव्ध हुन पुगेका थिए ।

घरबाट गाईबस्तुको मल लोड गरेर बारीतिर जाँदै गरेको आईचर ट्रक आईतबार विहान धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टे पतेनीमा दुर्घटना हुदा बाबु र छोराको ज्यान गएको छ । आमा सहित एकै परिवारका अन्य पाँच जना घाईते भएका छन् ।

नीलकण्ठ नगरपालिका– ५ खाल्टे पतेनीमा बा ३ ख ८९४७ नम्बरको मल बोकेको ट्रक आईतबार विहान दाउने खोलामा दुर्घटना हुदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेल र उनका बुबा ३७ वर्षीय गोपी भनिने राम बहादुर रम्तेलको मृत्यु भएको हो । सन्तोषको घटनास्थलमानै र गोपीको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा एकै परिवारका पाँच जना परेका हुन् । १० वर्षीय सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो । उनका बुबा राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक रामबहादुर रम्तेलका श्रीमती ३५ वर्षीय हिरा रम्तेल, उनका दुइ छोराहरु १३ वर्षीय कृष्ण रम्तेल र ११ वर्षीय सुजन रम्तेल घाइते भएका छन् ।

दुर्घटनामा चार जना बालबालिकासहित सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा पतेनीका ३५ वर्षीय हिरा रम्तेल, ११ वर्षीय बालक बिमल मजकोटी, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय प्रितम रम्तेल र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।
दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि सातै जनालाई हेलिकप्टरद्धारा आईतबार दिउँसो काठमाडौं लगिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकोले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाईएको हो ।
बिद्यालय विदा भएकोले बालबालिकाहरु बाबु आमासंगै मल बोकेको ट्रकमा चढेर खेतबारी जाँदै गर्दा उनिहरु चढेको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनाको खबर आएपछि स्थानीयवासीका साथै नेपाल प्रहरी, नेपाली सेना,शसस्त्र प्रहरी , नीलकण्ठ नगर प्रहरी , धादिङ अस्पताल धादिङ , नेपाल रेडक्रस साेसाईटी, सयुक्त एम्बुलेन्स चालक समाज धादिङ , धादिङ साेसियल भाेलेन्टियर सहितको उद्धारटोलीले घाइतेको उद्दार गरेर धादिङ अस्पताल ल्याएका थिए ।

 आईचर दुर्घटनामा परी घाईते भएकाहरुको हवाई उद्वार वापत लाग्ने खर्च नीलकण्ठ नगरपालिकाले बेहोर्ने भएको छ । नगर प्रमुख भीमप्रसाद ढुंगानाले चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई फोन सम्पर्क गरी घाईतेको उपचारमा कुनै कमी नगर्न आग्रह गरिएको प्रमुख ढुंगानाको सचिवालयले जनाएको छ । नगर प्रमुख ढुंगानाले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना मृतकहरु प्रति भावपुर्ण श्रद्धाञ्जली सहित परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

आर्थिक अभावका कारण घाइतेको उपचारमा ढिलाई नहोस भन्नाका लागि धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद रामनाथ अधिकारी र नीलकण्ठ वडा नम्बर ५ का वडाअध्यक्ष राम बहादुर श्रेष्ठको समन्वयमा स्वेच्छिक आर्थिक सहयोग संकलन गर्न थालिएको छ ।अभियानका रुपमा शुरु गरिएको सो कार्यमा विभिन्न व्यक्तिबाट आर्थिक सहयोग संकलन भईरहेको छ ।