फुटको सङ्घारमा पुग्यो माधव नेपालको अध्यक्षतामा रहेको नेकपा एस मंगलबार नै निर्वाचन आयोगमा झलनाथ खनालको नेतृत्वमा नयाँ दल दर्ता गरिंदै

237 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

धादिङ ३ बैशाख । माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) भित्र बढेको आन्तरिक कलह पार्टी विभाजन हुने अबस्थामा पुगेको छ ।काँग्रेस संग मिलेर गठवन्धन कमजोर बनाउन माधव नेपाल सक्रिय हुन थालेपछि नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी ( एस) भित्र विद्रोहको अबस्था सिर्जना हुन पुगेको हो ।

बिशेष स्रोतका अनुसार एसका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा पार्टीका १० मध्ये ६ सांसदले पार्टीमा विद्रोहको अन्तिम तयारी गरेका छन् । पार्टीमा लामो समयदेखि असन्तुष्ट देखिएका प्रेमकुमार आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा, प्रकाश ज्वाला, सुरेन्द्र पाण्डे समेतका छ जना सांसद मिलेर एसबाट विद्रोह गरी नयाँ दल खोल्ने तयारी गरेका हुन । उनीहरुले बैशाख ४ गते मंगलबार नै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेछन् ।

विभाजनको संघारमा पुगेको नेकपा एसमा पार्टी अध्यक्ष माधव नेपालको पक्षमा सांसदहरु राजेन्द्र पाण्डे, मेटमणि चौधरी र भानुभक्त जोशी मात्र रहेका छन् ।
वर्तमान सत्ता गठबन्धनमा माधव नेपालले निरन्तर असहयोग रहेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले माधव नेपालको विकल्प खोजिरहेका थिए । माधव नेपालको पक्षमा देखिएका नेताहरुले गठबन्धनको मर्म विपरीत सुदुरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन दबाब दिएपछि खनाल पक्षधर पार्टीबाट अलग भएर विद्रोहमा जान लागेका हुन ।
नेकपा एसको भूमिका शंकास्पद देखिएपछि ओली र प्रचण्डले माधव नेपालको सट्टामा सरकारमा तमलोपा र जनमत पार्टीलाई सहभागी गराउने तयारी गरिरहेका थिए ।

दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत संख्या चाहिने कानूनी व्यवस्था रहेको छ । नेकपा एसको केन्द्रिय समितिमा विद्रोहको पक्षमा ४० प्रतिशत भन्दा बढि संख्या रहेकाले कानून वमोजिम अलग दल गठन गर्ने तयारीमा खनाल पक्ष पुगेको एक केन्द्रिय सदस्यले वताए ।