प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार छ: शंकर पोखरेल

468 पटक पढिएको

७ बैशाख २०८१, शुक्रबार १७:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ ।

मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेकोे महासचिव पोखरेलको स्पष्टिकरण थियो ।

उहाँले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहार्‍याउनुभयो ।

आज शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्‍याउने संकल्पका साथ नयाँ सत्तासमिकरण बनाएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले काँग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताउनुभयो ।

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमिकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताउनुभयो ।