किन्ताङफेदी गुड्छ मोटर अब सरर

324 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ बैशाख । उत्तरी धादिङको सामरिक महत्वको क्षेत्र किन्ताङफेदीमा निर्माण गरिएको बेली बृजको उद्घाटन गरिएको छ ।
धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उक्त बेलिवृजको आईतबार उद्घाटन गरेका हुन ।

खनियाबास गाउँपालिका ४ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ जोड्ने किन्ताङखोलामा बेलीबृज निर्माण भएपछि यस भेगका वासिन्दामा खुसीयाली छाएको छ । ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको उक्त पुल नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्रिए,र थ्रि बिको स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर जडान गरिएको हो ।पुल निर्माणका लागि नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल बिद्युत्त प्राधिकरणको सामाग्री सहयोग,नेपाली सेनाको प्राविधिक सहयोग र गाउँपालिकाहरुको आर्थिक सहयोगमा निर्माण गरिएको फोर टि सिंगल टाईपको हाइब्रिड मेटालिक बेलिवृजकोे लागत कुल १ करोड १० लाख लागत रहेको छ । पुल निर्माणका लागि चाहिने खर्च धादिङको खनियाबास गाउँपालिका,गंगाजमुना र नेत्रावती डबजोङ गाउँपालिकाका साथै नुवाकोटको किस्पाङ गाउँपालिकाले सहयोग गरेको खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।

 धादिङको उत्तरी भेगमा पर्ने नेत्रावती डवजोङ र खनियावास गाउँपालिकाको सिमानामा रहेको किन्ताङफेदीमा पक्की पुल नहुंदा बर्षा लागेपछि खोलाबाट मोटर वारपार गर्न कठिनाई हुंदै आएको थियो । पुल निर्माण सम्पन्न भएसगैँ वर्षाको समयमा समेत उत्तरी धादिङका रुबीभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाहरुका स्थानीयहरुलाई यातायातको साधन मार्फत आवतजावत गर्न सहज भएको छ ।
किन्ताङफेदीमा पुल निर्माण भएसंगै धादिङको रुविभ्याली, गंगाजमुना, खनियाबास, नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको गाउँबस्ती सम्म सम्म हिउँद बर्षा नै मोटर पुग्नेछ ।
खनियाबास गाउँपालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य पुष्पविक्रम मल्ल, पुर्वमन्त्री दिलमान पाख्रिन, वागमती प्रदेश सांसद डम्बरबहादुर तामाङ, गोविन्द लम्सालका साथै स्थानीय जनप्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
किन्ताङफेदीको पुल निर्माण सम्पन्न भई मोटर चल्न थालेपछि उत्तरी धादिङका वासिन्दालाई सदरमुकाम धादिङबेसी आउन र गाउँ सम्म आवतजावत गर्न सहज हुने भएको छ । गत बर्षको असोज १८ गते पुल निर्माणको लागि शिलान्यास गरिएको थियो ।