महेश बस्नेतविरुद्धको मुद्दा तामेलीमा राखेकोबारे जवाफ पेश गर्न उच्च अदालतको आदेश
77 पटक पढिएको
काठमाडौं । उच्च अदालत पाटनले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंलाई नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध दर्ता भएको मुद्धा तामेलीमा राख्नु पर्नाको कारण सबुद प्रमाणसहित लिखित जवाफ गर्न आदेश दिएको छ ।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई सरकारी वकिलको कार्यालय पाटनमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो । वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौँ प्रहरीको रायलाई सदर गरेको हो ।
एमालका नेता पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक महिलाले ‘भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ समेत कसूर मुद्दामा जाहेरी दरखास्त दिएकोमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ती महिलाको जाहेरी दरखास्तलाई तामेलीमा राखि दिएपछि जाहेरीकर्ता महिला उच्च अदालत पुगेकी हुन ।