उपेन्द्र यादव दल विभाजनविरुद्ध सर्वोच्चमा

69 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन्। जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको नयाँ दललाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध अध्यक्ष यादवले सर्वोच्चमा रिट दिएका हुन्।

आफूहरूबाट फुटेर गएकालाई कानुन विपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान गरिदिएको भन्दै उनले रिटमा निर्वाचन आयोगलाई र पार्टी छोडेर जाने सांसदलाई विपक्षी बनाएका छन्। उनले दल विभाजनका लागि आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य विभाजनमा नपुगेको दाबी गरेका छन्।

नयाँ दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको समर्थन चाहिनेमा संघीय संसद्को ४० प्रतिशत सदस्य पुगे पनि केन्द्रीय समितिका ४० प्रतिशतले नयाँ दललाई समर्थन नगरेको यादवको जिकिर छ।

सर्वोच्चले पेशी तारेखका लागि जेठ २ गते अदालतमा हाजिर हुन भनेको छ। उनी अमेरिका रहँदा जसपाका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदलाई लिएर नयाँ दल (जनता समाजवादी) पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्। निर्वाचन आयोगले गत सोमबार नयाँ दललाई मान्यता दिएको हो। उनको पार्टीमा १२ सांसदमध्ये ५ जना मात्रै छन्।