प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु: प्रधानमन्त्री प्रचण्ड

61 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको बताउनुभएको छ ।

आज काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

यो शुरुवातसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नवीकरणीय ऊर्जा परियोजना, दिगो कृषि अभ्यास र नयाँ प्रविधिहरू अन्वेषण गरिरहेको बताउनुभयो । उहाँले नेपालले पेरिस सम्झौताप्रति सधैँ आफ्नो प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो । नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको बताउनुभयो ।