चितवनमा चार सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु, २२ घाइते
86 पटक पढिएको
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारीसाधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गएराति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।
घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।