विश्वकप क्रिकेट आजदेखि अमेरिका र वेस्टइन्डिजमा शुरु, नेपालले पहिलो खेल कति खेल्छ ?

111 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्टइन्डिजमा शुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्तरुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकाले आयोजकको रुपमा पहिलो पटक विश्वकप खेल्न लागेको हो ।

आयोजक अमेरिका र क्यानडाबीचको उद्घाटन खेल नेपाली समयअनुसार भोलि बिहान सवा ६ बजे डालासमा शुरु हुनेछ । क्यानडाले पनि पहिलो पटक विश्वकप खेल्न लागेको हो । अर्को आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) भोलि बेलुका खेल्नेछन् ।

यसपटकको विश्वकपमा २० देश– आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्ग्लादेश, श्रीलङ्का, अफगानिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् ।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्याण्डस र बङ्ग्लादेश रहेका छन् ।

नेपालले आउँदो मङ्गलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो ।