आबुखैरेनी–मुग्लिन सडकखण्ड दैनिक ३ घन्टा बन्द

107 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि दैनिक ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने सडकखण्डमा माथिबाट ढुंगा झर्ने जोखिम रहेको ढुंगा झार्नुपर्ने भएकाले बाटो बन्द गर्न लागेको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो ।

केही दिनअघि आएको हावाहुरीले समेत ढुंगा झरेर सडक नै अवरुद्ध बनाएपछि सडकका माथिल्लो भागमा रहेका जोखिमपूर्ण ढुंगा हटाउन लागिएको ज्ञवालीले बताउनुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्ड साँघुरो र जोखिमपूर्ण पनि छ । २ दिनभित्र सबै ढुंगाहटाएर बाटो नियमित खुलाउने तयारी भइरहेको उहाँको भनाइ छ । तत्कालका लागि उक्त सडकखण्डको कुनै वैकल्पिक बाटो नभएको ज्ञवालीले बताउनुभयो ।