झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार, २ वटाको मृत्यु

328 पटक पढिएको

२७ जेष्ठ २०८१, आईतवार १६:११ सम्पादक: धादिङ न्यूज

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ। पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको छ। २ वटालाई भने बचाउन नसकिएको प्रहरीले बताएको छ।

आज आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए। पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो।

दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए।

दैलेख डीएसपी सुनिल दाहालका अनुसार, सबै खच्चडको उद्धार सकिएको छ। फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो। ती मध्ये ८ वटाको सकुशल उद्धार भयो। बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बाँकी रहेका तीनवटा खच्चडलाई भने पुलबाटै बाहिर निकालिएको दाहालले बताउनुभयो ।