यस वर्ष १६ लाख  पर्यटक भित्र्याउने लक्ष्य छ: पर्यटनमन्त्री तामाङ

114 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख  पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन्।  शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा नेपाल इन्टरनेट टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन्।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा  सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाई छ। सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको हवाई टिकटको  भ्याट र अन्य केही अनावश्यक  कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास अघि नै गरिने उनले प्रस्ट पारे।  यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने विश्वास सरकारले लिएको उनको भनाई छ।

पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको उनको भनाई छ। पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरू हटाउने कुरामा सरकार लागि परेको र संशोधन हुने उनले बताए। विश्व पर्यटन बजारमा नेपाल घुम्नै पर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको छ।  प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक सङ्ख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको  रहेको छ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको छ। नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य समेत हो। पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने गर्दछ। भृकुटीमण्डपमा नेपाल इन्टरनेट टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ।