हेटौँडा सबस्टेशनको उद्घाटन

61 पटक पढिएको

सम्पादक: Dhading News

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौँडा सबस्टेशन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्मित सबस्टेशनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी बाँकी भएकाे वर्षायामको झन्डै ४० मेगावाट बिजुली बङ्ग्लादेशतर्फ निर्यात गर्न अब छिट्टै तीन देशका विद्युत् व्यापारमा सङ्लग्न निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने र त्यसपछि नेपालको बिजुली बङ्ग्लादेश निर्यात शुरु हुने बताउनुभयो । बङ्ग्लादेशमा बिजुली निर्यात शुरु हुने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्त्वपूर्ण हुने उहाँले उल्लेख गनुभयो ।

ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेशन निर्माण सम्पन्न गरी गएको शुक्रवारदेखि सञ्चालनमा आइसकेको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेशन निर्माण सम्पन्न गरी गएको शुक्रवारदेखि नै चार्ज गरिएका छन् । जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर देशकै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेशन हो ।

हेटौँडा सबस्टेशनको निर्माण सम्पन्न भएसँगै झन्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रूपमा बिजुली आपूर्ति थप सुदृढ हुने र भारतसँगको बिजुली व्यापार थप विस्तार हुनेछ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट नुवाकोटको रातमाटेमा निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसशनमा ल्याएर जोडिनेछ ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेशन विस्तार आयोजना शुरु गरिएको थियो । यो आयोजनाअन्तर्गतका तीन वटै सबस्टेशन निर्माण सम्पन्न भएका छन् ।

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौँडा सबस्टेशन निर्माणका लागि सन् २०१८ को डिसेम्बरमा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौँडा सबस्टेशनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।