जित नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग पराजित

101 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित निकाल्नबाट नेपाल एक रनले चुकेको छ । शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो ।

नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि ऐतिहासिक नतिजाबाट चुकेको हो ।

नेपालका लागि आसिफ सेखले ४२ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । १.५ ओभरमा एक रनमा खेलिरहँदा आसिफ सेख आउट हुनबाट बचेका थिए । कगिसो रबाडाले गरेको उक्त ओभरमा रबाडाले नै आसिफको क्याच छुटाएका थिए । आसिफले ३५–२ को अवस्थाबाट अनिल साहसँग ५० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

१३.४ ओभरमा आउट हुनुअघि अनिलले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनिलको यो नै अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर हो ।

कुशल भुर्तेलले १३ रन बनाए । यसबाहेक, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान ६ रन थपे । सोमपाल कामी आठ रनमा अविजित रहँदा कुशल मल्लले एक रन जोडे । कप्तान रोहितकुमार पौडल डक भएका थिए ।

जितसँगै दक्षिण अफ्रिका समूह ‘डी’बाट अपराजित रहँदै सुपर–८ मा प्रवेश गरेको छ । तीन खेलबाट एक अंक जोडेको नेपाल भने प्रतियोगिताको समूह चरणबाट बाहिरिने पक्का भएको छ । नेपाल तालिकाको चौथो स्थानमा छ ।